
किशोरीको डिम्ब तस्करी प्रकरणः मुद्दा नचलाएको भन्दै महान्यायाधिवक्ता भण्डारीलाई पदमुक्त गर्न माग
काठमाडाैं- जेनजी आन्दोलनका अगुवा माजिद अन्सारीले महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल पदमुक्त गर्न सरकारसँग आग्रह गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत उनले किशोरीहरूको डिम्ब संकलन गरी बिक्री गर्ने गम्भीर आपराधिक घटनामा ‘मुद्दा नचलाउने’ निर्णय लिनु संविधान र विधिको शासनका आधारभूत मान्यतामाथि नै प्रहार भएको टिप्पणी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘महिला–बालिकाविरुद्धका अपराधमा स्वयम् महिला प्रधानमन्त्रीको नेतृत्व रहेको देशमा महिला महान्यायाधिवक्ताकै प्रत्यक्ष संलग्नतामा महिला–बालिकाको न्याय मार्ने स्वार्थप्रेरित र दूषित निर्णय हुनु अत्यन्त दुःखद र आपत्तिजनक छ। यस्तो निर्णयले न्यायिक अखण्डता, विधिको शासन र नागरिक आस्थामाथि ठाडो प्रहार भएको हाम्रो ठहर छ।’
उनका अनुसार जनविद्रोहको जगमा बनेको अन्तरिम नागरिक सरकारले गर्ने हरेक निर्णय र नियुक्तिले नैतिकता, पारदर्शिता र जनविश्वास कायम राख्नुपर्छ। तर अहिलेको विवादित कदमले सरकारकै विश्वसनीयता कमजोर भएको अन्सारीको आरोप छ।
अन्सारीले महान्यायाधिवक्ता जस्तो संवैधानिक पदमा बस्न निष्पक्षता, न्यायिक मर्यादा र नैतिक उचाइ अनिवार्य हुने भन्दै भण्डारीले सो पदमा बसिरहने नैतिक आधार नै समाप्त भएको दाबी गरेका छन्।
विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल सरकारका महान्यायाधिवक्तालाई अन्तरिम नागरिक सरकारको प्रतिष्ठा जोगाउन सम्माननीय प्रधानमन्त्रीज्यूले संविधानको धारा १५७ को मर्मअनुसार तत्काल पदमुक्त गर्नुपर्छ।’
भण्डारीमाथि उठेको विवाद उनको आफ्नै पारिवारिक लगानी रहेको होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिसँग सम्बन्धित छ। यस क्लिनिकले १६–१७ वर्षका किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकाल्ने र ती डिम्ब लाखौं रुपैयाँमा बिक्री गर्ने आरोप लागेकाे छ। भण्डारीको छोरी डा. प्रत्युषा बराल त्यहाँ कार्यरत छन् भने आरोपित डा. स्वस्ति शर्मा भण्डारीकै सानीमाकी छोरी हुन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रमाणसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरीले किशोरीबाट जबर्जस्ती डिम्ब निकालिएको र ती डिम्ब क्लिनिकले १८ लाखसम्ममा बिक्री गरेको पत्ता लगाएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले असोज ३० गते मुद्दा नचलाउने निर्णय गरेको थियो। भण्डारीले भने निर्णयमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन्।



कागजपत्र |
