
लन्डनमा नेपाली विद्यार्थी मृत फेला
लन्डन- बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा असामयिक निधन भएको छ ।
सल्यानको भल्चौर–७ घर भई हाल लन्डनको एजवेयरमा बस्दै आएका २६ वर्षीय योमन चन्दको मंगलबार बिहान निधन भएको हो । एक वर्षअघि मात्र उच्च अध्ययनका लागि बेलायत आएका उनले युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डबाट एमएस्सी इन कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए ।
भोलिपल्ट आफ्नो स्नातकोत्तर प्रमाणपत्र (सर्टिफिकेट) लिनुपर्ने तयारीमा रहेका चन्दको अकस्मात मृत्यु भएको हो ।
उनसँगै बस्ने साथी मनोज कुँवरका अनुसार सोमबार बिहानै चन्दले “टाउको दुखेको छ र वान्ता पनि भयो” भनेका थिए ।
मनोजका अर्काे दिन बिहान ७:४० बजे अलार्म बज्दा पनि चन्द उठेका थिएनन् । बिहान ८ बजे सुरु हुने कामका लागि सधैं ७ बजे निस्किने भएकाले मनोजले उनलाई उठाउन खोज्दा प्रतिक्रिया नदिएपछि हात छोएर हेर्दा चिसो भएको महसुस गरे ।
एम्बुलेन्स टिम बिहान ८ बजे घर पुगेपछि जाँच गर्दा चन्दको ब्लड सुगर लेभल २ मात्र रहेको पाइएको थियो । सुगर लेभल बढाउन उपचार गरे पनि शरीरले सुगर अवशोषण गर्न नसकेपछि मंगलबार बिहान ९:३० बजे स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको मनोजले जनाए ।
मृत्युबारे अनुसन्धानमा खटिएको मेडिकल टिम र प्रहरीले घटनालाई प्रारम्भिक रुपमा ‘नेचुरल डेथ’ (स्वाभाविक मृत्यु) भनेका छन् । फरेन्सिक टोलीले प्रारम्भिक प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।



कागजपत्र |
