तोडफोड र आगजनी गर्न उक्साएको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ


पोखरा- जेनजी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिहरूको घर तोडफोडका लागि उक्साएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता विक्रम उर्फ अभिमन्यु पाण्डे पक्राउ परेका छन्।

कास्कीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पाण्डेले पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक फुटाउन भूमिका खेलेका थिए। त्यसपछि व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्नेसम्मका गतिविधिमा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मंगलबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।

पाण्डे पोखरामा सञ्चालित संघर्षशील  सहकारीको रकम अपचलन गरेको अभियोगमा यसअघि पनि उनी पक्राउ परेका थिए। सो प्रकरणमा धरौटीमा छुटेका पाण्डेमाथि अब आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रतिक्रिया