‘लोटा लिएर खोला’ जाने बेला नहुँदै सपथ खुवाएकी प्रदेश प्रमुख भण्डारी ‘बर्खास्ती’मा !

भण्डारीलाई पदमुक्त गर्दै सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारको सिफारिस


काठमाडौं – सोमबार बिहान मधेश प्रदेशकी तत्कालिन प्रदेश प्रमुख सुमीत्रा भण्डारीले बर्दिबासको एउटा होटलमा अनौठो घटनाक्रम सिर्जना गरिन्, सोही कारण नै उनको प्रदेश प्रमुखको पद गुमेको छ ।

मधेश प्रदेशको नवनियुक्त मुख्यमन्त्रीलाई बिहान करिब साढे ४ बजे होटलको एउटा कोठामा सपथ गराएकी भण्डारीलाई सरकारले प्रदेश प्रमुखको जिम्मेवारीबाट हटाएको छ ।

‘लोटा लिएर खोला’ जाने बेला नहुँदै प्रदेश प्रमुख भण्डारीले गरेको उक्त कार्यको सर्वत्र विरोध भइरहँदा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई पदमुक्त वा बर्खास्त गर्ने निर्णय गरेको छ ।

सरकारले उनले पदीय गरिमा विपरितको कार्य गरेको ठहर गर्दै संवैधानिक पदको समेत गरिमा राख्न नसकेको जनाएको छ । नेकपा एमालेको कोटामा प्रदेश प्रमुख बनेकी भण्डारीले एमालेका प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै एकाबिहानै सपथ गराएकी थिइन् । निवर्तमान मुख्यमन्त्रीसँग बिरामी भएको भन्दै जनकपुरबाट छुट्टिएकी भण्डारीले ५० किलोमिटर टाढा बर्दिबासमा आएर होटलको एउटा कोठामा झिसमिसेमै सपथ गराउनु हास्यास्पदमात्र थिएन पदीय आचरणविपरित नै भएको पुष्टी भएको छ ।

उनले गरेको मुख्मन्त्रीको नियुक्तिविरुद्ध गैरसंवैधानिक भन्दै रिट परिसकेको छ । उनले विश्वासको मत प्राप्त गर्न नसक्ने ठहर गर्दै राजीनामा दिएका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको स्थानमा नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाएकी थिइन् ।

सरकारले उनलाई पदमुक्त गरेसँगै सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने सिफारिस गरेको छ ।

प्रतिक्रिया