
आम निर्वाचनअघि नै नियमित महाधिवेशन आवश्यकः डा. शेखर कोइराला समूह
काठमाडौं – नेपाली कांग्रेसभित्र संस्थागत सुदृढता, आन्तरिक एकता र आगामी आम निर्वाचनको तयारीलाई व्यवस्थित गर्न नियमित महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको छ।
घोषित निर्वाचन अगाडि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको बेलामा डा. शेखर कोइराला नेतृत्वको पक्षबाट जारी अध्ययन र छलफल अनुसार, नियमित अधिवेशनले पार्टीको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने निष्कर्ष निकालिएको छ।
कोइराला पक्षले नियमित महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउँछ, एकता सुदृढ पार्छ र आगामी निर्वाचनमा कांग्रेसलाई मजबुत रूपमा अघि बढाउने बाटो खोल्ने जनाएको छ ।
कोइराला पक्षले पार्टीको आगामी कार्यदिशाका बारेमा विभिन्न चार बुँदामा स्पष्ट धारणा सार्वजनिक गरेको छ ।
१. संस्थागत र संगठनात्मक सुदृढता
नियमित महाधिवेशनले पार्टीको संगठनात्मक निरन्तरता सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य, विधान र अनुशासनको सम्मान गर्ने वातावरण तयार गर्छ।
यसले नेतादेखि कार्यकर्तासम्म सबैलाई प्रक्रियामा सहभागी गराउने भएकाले पार्टीभित्रको आन्तरिक वैधता बलियो बनाउँछ।
अर्कोतर्फ, विशेष महाधिवेशनजस्ता आकस्मिक कदमहरूले तत्कालीन विवाद र स्वार्थका प्रतिक्रिया देखाउने भएकाले संस्थागत संस्कृतिलाई कमजोर पार्ने जोखिम रहन्छ।
२. एकता र स्थिरता
डा. कोइरालाको मध्यमार्गी दृष्टिकोणले पार्टीभित्रका दुवै धारबीच सन्तुलन ल्याएर सहकार्यको वातावरण सिर्जना गर्न मद्दत पुर्याउँछ।
नियमित प्रक्रियाले सबै पक्षलाई निष्पक्ष रूपमा तयारी गर्ने अवसर दिन्छ, जसले गुटगत तनाब घटाउँछ र संगठनभित्र संवाद तथा सहमतिको संस्कृति प्रवर्द्धन गर्छ।
३. निर्वाचन तयारी
आगामी आम निर्वाचनका लागि पार्टीले नीतिगत दिशा, उम्मेदवार छनोट र कार्यक्रम तय गर्न पर्याप्त समय पाउने भएकाले नियमित महाधिवेशन अपरिहार्य ठहर गरिएको छ।
यसले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया समयमै सम्पन्न हुने भएकाले जनतामा विश्वास र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।
विशेष महाधिवेशनले भने चुनावी तयारीमा अनिश्चितता, विवाद र भ्रम सिर्जना गर्ने भएकाले त्यसबाट टाढा रहनु उचित हुने निष्कर्ष निकालिएको छ।
४. राजनीतिक विश्वसनीयता
निर्धारित समयमै महाधिवेशन गर्नु भनेको प्रक्रियालाई व्यक्तिको स्वार्थभन्दा माथि राख्नु हो । यसले कांग्रेसलाई जिम्मेवार, नीति केन्द्रीत र अनुशासित शक्ति देखाउँछ । पार्टीको विधान र परम्पराको सम्मान गरेर पार्टीको मूल मूल्यहरुलाई जोगाइन्छ ।



कागजपत्र |



