
रास्वपाले माग्यो समानुपातिक उम्मेदवारका लागि आवेदन
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ। पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यद्वारा प्रस्तुत उम्मेदवार छनोट रूपरेखा अनुमोदन भएपछि आजदेखि आवेदन खोलेको रास्वपाले जनाएको छ।
रास्वपाले उम्मेदवार मनोनयनका लागि विस्तृत मापदण्ड तयार पारेको छ। उम्मेद्वारले सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको वैधता, वैवाहिक अवस्थाको वैधता तथा अनलाइनसहित सार्वजनिक रूपमा घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात–लिंगका आधारमा अपमान वा कमजोर समूहको शोषणजस्ता व्यवहार नगरेको स्वघोषणा अनिवार्य गरिएको छ।
छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष छ/छैन भन्ने मूल्याङ्कन गर्न पार्टीले अडिट समिति गठन गर्ने निर्णय पनि गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले जेन–जी प्रतिनिधित्वलाई समावेश गर्दै २५–४० वर्ष उमेर समूहका युवाको २७ प्रतिशत सहभागिता सुनिश्चित गरिएको जानकारी दिए। त्यस्तै, विदेशबाट फर्किएर समानुपातिकतर्फ उम्मेदवार बन्न चाहने नेपालीका लागि १० प्रतिशत कोटा छुट्याइएको उनले बताए।
यसैगरी, २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित भइसकेका रास्वपा सांसदले समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ।



कागजपत्र |
