२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सर्वपक्षीय सहयोगको आह्वान गरेका छन्।

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान र लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन निर्वाचनको सफलतामा सबैले योगदान गर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलका अनुसार युवा पुस्तामा सुशासन तथा विकासप्रतिको आकांक्षा तीव्र रूपमा बढिरहेको छ, जसलाई सम्बोधन गर्न परिणाममुखी निर्वाचन आवश्यक छ।

उनले लोकतन्त्र सुदृढीकरण र जनताले प्रतिफल पाउने वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिकालाई महत्वपूर्ण बताउँदै सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोगमार्फत भ्रम, मिथ्या तथा अविश्वसनीय सूचना फैलिन सक्ने जोखिम बढेकाले जिम्मेवार सञ्चारमाध्यमले जनतालाई भ्रमित हुन नदिन सचेत रहनुपर्ने टिप्पणी गरे।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यम व्यवसायिक रूपमा अघि बढ्न प्रसारण सामग्रीको मौलिकता, सिर्जनात्मकता र तथ्यपरकता महत्वपूर्ण हुने बताए। उनले सार्वजनिक सेवा प्रसारणले फरक तथा सिर्जनात्मक सामग्री प्रस्तुत गर्दै दिगो रूपमा अघि बढ्नु पर्नेमा जोड दिए।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको र नयाँ च्यानल ‘एन टिभी वर्ल्ड’ शुभारम्भ गरिएको थियो।

प्रतिक्रिया