
‘एकतर्फी’ महाधिवेशन गर्ने ओलीको संकेत
काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन औपचारिक मात्रै हुने संकेत दिएका छन्। उनका अनुसार महाधिवेशनमा आफ्नो निर्देशनात्मक सम्बोधनपछि कुनै छलफल हुनेछैन।
शुक्रबार एमाले केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागद्वारा आयोजित विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा ओलीले भने, “यसपल्ट मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। उद्घाटन मन्तव्य आउँछ, बस्। त्यसमा छलफल हुँदैन।”
सम्बोधनपछि बहसको समय समेत नहुने बताउँदै ओलीले लामो महाधिवेशन गर्न आवश्यक नभएको दाबी गरे। “भ्यायौं भने महाधिवेशन पाँच–सात दिन जान्छ। त्यो धान्न सकिँदैन,” उनले टिप्पणी गरे।
ओलीका अनुसार एमालेको प्राथमिकता अहिले नीति बहसभन्दा पनि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाप्रति केन्द्रित छ। “अब मुख्य काम विघटित प्रतिनिधिसभा पुनर्स्थापना हो। यहीँ उपलब्धि हासिल गर्नुपर्ने छ,” उनले भने।
पार्टी नेतृत्व चयन र पुनर्गठनका विषय उठाउँदै केही नेताले ‘उपद्रव’ मच्चाएपछि महाधिवेशन एक वर्षअगाडि ल्याउन बाध्य भएको ओलीको जिकिर छ। “अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले एक वर्षपछि गरे हुने महाधिवेशन अगाडि सारेका हौं,” उनले बताए।
ओलीले पार्टीभित्र काम गर्ने र नगर्नेहरूको भेद कार्यकर्ताले स्पष्ट रूपमा बुझेकाे भन्दै पार्टी मूल्यांकन अब कार्यकर्ताले गर्ने बताए। “को अड्या छ, को लड्या छ, कसले काम गरेको, कसले गरेको छैन। कार्यकर्ताले मूल्यांकन गर्छन्,” उनले टिप्पणी गरे।



कागजपत्र |
