
झापामा जेनजी आन्दोलनकै क्रममा लुटिएको इन्सास र गोली फेला
झापा- जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये एक थान इन्सास र दुई दर्जन गोलाबारुद झापामा फेला परेको छ। बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिकको झाडीमा बेवारिसे अवस्थामा उक्त हतियार भेटिएको हो।
बुधबार दिउँसो करिब ४ः४५ बजे फेला परेको सामग्रीमध्ये ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खडकाले जानकारी दिए।
उक्त हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको थियो। बरामद भएको हतियार इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको डिएसपी खडकाले बताए।
उनका अनुसार जेनजी आन्दोलनकै क्रममा लुटिएका अन्य २२ थान हतियार अझै फेला पर्ने बाँकी रहेका छन्।



कागजपत्र |
