नियमित महाधिवेशन नै पार्टीको हितमा छः डा. शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशन नै कांग्रेसको हितमा हुने बताएका छन् ।

निर्वाचन घोषणा गरिसकेको अहिलेको परिवेशमा नियमित महाधिवेशनका लागि समय भईसकेको अवस्थामा हल्ला र लहडकै भरमा विशेष महाधिवेशनको आवाज उठाउनु उपयुक्त नहुने कोइरालाले जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको भौतिक आक्रमणमा परेर स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका पार्टी सभापति शेरबहादुरले समेत विशेष महाधिवेशन नगर्नु भन्ने सन्देश दिए पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको डंका पिटाइरहेका छन् ।

अहिलेको समयमा पार्टीको नेतृत्वमात्र परिवर्तन गरेर मुलुक र पार्टीले निकास नपाउने जनाउँदै कोइरालाले पार्टी नेतृत्व होइन पार्टीको आत्मा र सोच फेर्न आवश्यक रहेको बताए ।

कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले अहिले पछिल्लो समयमा पार्टीभित्र उठेको विषयलाई टार्न खोजिरहेको पनि कांग्रेस कार्यकर्ताहरुले जनाएका छन् ।

पार्टीको नियमित तालिका र सरकार निर्माणको कुरा फरक भएको जनाउँदै डा. कोइरालाले नियमित प्रक्रियाअनुसार नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने जनाएका छन् ।

कार्यबहाक सभापति खड्काले भने निर्वाचन घोषणा गरिसकेको अवस्थामा चुनावपछि मात्र पार्टीको महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

डा. कोइरालाले अहिले पार्टीका केही जिम्मेवार पदाधिकारीलाई विशेष अधिवेशको हतारो भएको जनाउँदै त्यसले पार्टीलाई सुधार भन्दा पनि अस्थिर बनाउने जिकिर गरेका छन् ।

कोइरालाले पार्टीको विधानअनुसार नै नियमित महाधिवेशन नै लोकतन्त्रको सम्मान भएको जनाउँदै नयाँ पुस्तालाई पार्टीमा जोड्ने र पार्टी नेतृत्वमा ल्याउने उपयुक्त माध्यम नै नियमित महाधिवेशन भएको जनाए ।

विशेष महाधिवेशन गर्दा तत्काललाई फाइदा र लाभ देखिए पनि दीर्घकालीन रुपमा पार्टीको संगठन विस्तार र संरचनालाई नै बेफाइदा हुने पनि डा. कोइरालाले जनाए ।

डा. कोइरालाले निर्वाचन अगाडि नै नियमित महाधिवेशन गरेर पार्टीबाट यसअघि भएका गल्तीहरुलाई सच्याउँदै आगामी दिनमा संगठन विस्तार र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने जनाएका छन् । उनले नेतृत्व फेरेर मात्र पार्टी चोखो नहुने बताउँदै पार्टी नेतृत्वमा रहेकाहरुको सोच र सिस्टम परिवर्तन गर्नुपर्ने जनाएका छन् ।

प्रतिक्रिया