कार्यवाहक सभापतिको प्रतिवद्धतापछि कांग्रेस कार्यालयमा लगाइएकाे ताला खुल्याे


काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रतिवद्धतापछि युवाहरूले पार्टी कार्यालयमा लगाएको ताला खोलेका छन्।

पार्टीका मुख्य सचिवको उपस्थितिमा कार्यवाहक सभापति खड्काले युवा आन्दोलनरत पक्षसँग छलफल गर्दै उनीहरूको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि तालाबन्दी फुकुवा गरिएको हो।

खड्काले नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनको मिति तोक्ने प्रतिबद्धता जनाएका छन्। साथै, ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने मागलाई सम्बोधन गर्न पार्टीको विधान संशोधनबारे व्यापक छलफल गरिने बताएका छन्।

त्यसैगरी उनले विगत चार वर्षभित्रको क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गर्ने र उक्त विवरण नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा राखिने आश्वासन दिएका छन्।

युवाहरूले विगत केही दिनदेखि पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा पारदर्शिता र युवाको सहभागिता सुनिश्चित गर्न माग गर्दै तालाबन्दी गर्दै आएका थिए। खड्काको प्रतिवद्धतापछि आन्दोलनरत युवाहरूले भने पार्टी नेतृत्वले दिएको आश्वासन कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया