
माधव नेपालको हात समातेर पार्टी बनाएकी झाँक्री एमालेमै फर्किने चर्चा
काठमाडाैं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री फेरि पुरानै घर(नेकपा एमाले)मा फर्किने तयारीमा रहेको चर्चा छ। माओवादी केन्द्रसहित आठ दलसँग पार्टी एकताको निर्णयपछि असन्तुष्टि जनाउँदै झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बाक्लो संवाद गरिरहेकी छन्। उनले ओली र अन्य नेतासँग निरन्तर छलफल भइरहेको बताइएकाे छ।
२०७८ सालमा एमाले विभाजन भई एकीकृत समाजवादी गठन हुँदा झाँक्री माधवकुमार नेपालको हात समातेर नयाँ पार्टी निर्माणको अगुवाइमा थिइन्। तर, पछिल्ला वर्षहरूमा नेपालसँग उनको सम्बन्ध असहज बनेको छ। उनले पार्टीमा आफूलाई बेवास्ता गरिएको र संकटका समयमा समेत साथ नपाएको गुनासो गर्दै आएका छन्।
ओलीले हालै एकीकृत समाजवादीका नेताहरूसँग “पुरानो घर फर्कन” अपिल गरेपछि झाँक्री र पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमालेसँग पुनः नजिकिएका छन्। झलनाथ खनाल पनि संवादमा रहेको बताइए पनि महासचिव घनश्याम भुसाल भने अन्य विकल्पमा केन्द्रित देखिएका छन्।
नेकपाकालमा ओलीविरुद्ध विद्रोही भूमिकामा रहेकी झाँक्रीको सम्भावित पुनरागमनले एमालेभित्र नयाँ राजनीतिक हलचल मच्चाएको छ।



कागजपत्र |
