
नख्खुबाट रवि लामिछाने थुनामुक्त प्रकरणमा नयाँ खुलासा, जेलरले दिए यस्तो बयान
काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारमा भएको तोडफोड र कैदीबन्दी फरार घटनाको छानबिन तीव्र बनेको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले आइतबारदेखि घटनासम्बन्धी बयान लिँदै छ।
आयोगले काठमाडौंकेन्द्रित अनुसन्धानको सुरुवात नख्खु कारागारका प्रमुख सत्यराज जोशीको बयानबाट गरेको हो। जोशीले आयोगसमक्ष ती घटनाका क्रममा आफूलाई ठूलो दबाबमा राखेर पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन्।
उनका अनुसार भदौ २४ को बिहानैदेखि कारागार वरिपरि प्रदर्शन तीव्र भएको र नियन्त्रणमा लिन नसकिएको थियो। स्थिति काबु बाहिर जाँदा रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गरिएको पत्रमा हस्ताक्षर गर्न दबाब आएको उनले बताएका छन्। जोशीले भने, “आफ्नो ज्यानसमेत जोखिममा परेपछि पत्रको व्यहोरा नहेरी हस्ताक्षर गर्नुपर्यो।” रवि लामिछाने निस्केको डेढ घण्टापछि पत्र ल्याएर हस्ताक्षर गराएकाे समेत उनले बताएका छन्।
आयोगका अध्यक्ष कार्कीले विभिन्न जिल्लामा अध्ययनपछि काठमाडौंकेन्द्रित अनुसन्धान सुरु भएको बताए। आयोगले लामिछाने, सञ्जय साह ‘टक्ला’ लगायत कैदीबन्दीको भूमिका र सुरक्षा कमजोरीका कारणबारे पनि थप विवरण संकलन गरिरहेको छ।
आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।



कागजपत्र |
