लुटिएको हतियारसहित काभ्रेका राजा पक्राउ


काठमाडौं- जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ स्थायी घर भएका र काठमाडौंको गोकर्णेश्वर–३ बस्दै आएका २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) छन्।

सीआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार, कात्तिक १३ गते साँझ लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घर बाहिर प्लास्टिकको कुर्सीमा राखिएको कालो झोलाभित्र नम्बर नखुलेको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा गोप्य सूचनाको आधारमा उक्त झोला तामाङले राखेको पत्ता लागेको हो।

कात्तिक १४ गते साँझ गोकर्णेश्वर–३, माइती नेपाल नजिकैबाट उनलाई पक्राउ गरिएको र प्रारम्भिक सोधपुछमा उनले झोला आफूले राखेको स्वीकार गरेका छन्।

पक्राउका क्रममा डेरा कोठा खानतलासी गर्दा विभिन्न सिरियल नम्बर अंकित तीन थान गोलीसमेत बरामद भएको छ। तामाङ प्रहरीले वृत्त बौद्धमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त रहेको र २०८२ भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएको खुलेको छ।

 

प्रतिक्रिया