शेखर समूहको छलफलः पुस १६ देखि नियमित महाधिवेशन गराउनुपर्ने निष्कर्ष


काठमाडाैं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले फागुन २१ गतेको निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

शुक्रबार विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले मंसिरमा सम्भव नभए पुसमा नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

लामो समययता संवादहिनताको अवस्थामा रहेका कोइरालाले आज आफूपक्षीय नेताहरूलाई बेलाएका थिए। छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय पाण्डे र जीवन परियार सहभागी थिए।

साेही भेलाले मंसिरमा सम्भव नभए पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन र आजको बैठकमा पेश गर्न महामन्त्री गगन थापालाई जिम्मा दिएको छ। अब कार्यावाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरी कार्यतालिका प्रस्तुत गर्ने वातावरण बनाइने सहमहामन्त्री पाण्डेले बताए।

केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। दिउँसो एक बजेदेखि बस्ने बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारी इतर समूहकाे छ।

यसअघि बिहीबारकै केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले मंसिरमै महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गर्न चाहेका थिए। तर, कार्यवाहक सभापति खड्काले सहमति नदिएपछि उनी बैठकमै उपस्थित भएनन्।

संस्थापन पक्षको बुधबार भएको भेलाले भने तत्काल महाधिवेशन नभई चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको थियाे। संस्थापन पक्ष चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

 

प्रतिक्रिया