चिनियाँ ठेकेदारले पोखरा विमानस्थल निर्माणका क्रममा पाएको कर छुट सवा २ अर्ब असुल्ने क्यानको निर्णय


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चिनियाँ ठेकेदारबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पाएको करिब साढे २ अर्ब (२ अर्ब २२ करोड ४० लाख) रुपैयाँ कर छुट रकम असुल्ने निर्णय गरेको छ ।

क्यानले चिनियाँ ठेकेदार कम्पनीलाई विमानस्थल निर्माणबापतको तीन अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अवस्थामा क्यानले छुटबापतको उक्त रकम कटाएर ७८ करोड ६० लाख रुपैयाँ मात्रै भुक्तानी गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको यो निर्णयपछि अब पोखरा विमानस्थलको लागि भुक्तानी गर्नुपर्ने रकम अब टुंगिएको जनाइएको छ ।

पोखरा विमानस्थल निर्माण क्रममा सम्झौता विपरीत सरकारले चिनियाँ ठेकेदारलाई कर छुट दिएको भन्दै महालेखापरीक्षकको कार्यालयले बेरुजु औँल्याएपछि प्राधिकरणले उसले पाउनुपर्ने तीन अर्ब रुपैयाँ रोकेर राखेको थियो ।

अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ अनुसार दायित्व भुक्तानी गर्न दिएको निर्देशनलाई पर्यटन मन्त्रालय मातहत आएको पत्र अनुसार प्राधिकरणले निर्णय गरेको उल्लेख छ ।

यो कर छुटको विषयमा महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले ‘मूल सम्झौता विपरीत चिनियाँ विमानस्थल निर्माण ठेकेदार सीएमसी इन्जिनियरिङ कम्पनीलाई दुई अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिनु अनियमितता भएको उल्लेख गरेको थियो । सो कर छुट दिइएको विषयमा सैद्धान्तिक आधार र औचित्य उल्लेख गरेर अर्थ मन्त्रालयले दायित्व भुक्तानी गर्न आदेश दिएको थियो ।

यस अघि सरकारी सहुलियतपूर्ण ऋण सम्झौताको परिच्छेद ३ मा भएको प्रावधान बमोजिम नेपाल रुपैयाँ २ करोड २२ लाख ४० हजार (चिनियाँ यूआन ११ करोड ९४ लाख ४१ हजार ४६०) को रकम एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाबाट यस प्राधिकरणको राजश्व खातामा जम्मा गर्ने व्यवस्थाका लागि अनुरोध भइरहेको थियो ।

उक्त रकम महालेखाले औल्याएको बेरुजु फछ्यौट प्रयोजनार्थ प्राधिकरणको राजश्व खातामा जम्मा नभएसम्म निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई प्राधिकरणको तर्फबाट कुनै पनि रकम भुक्तानी सम्बन्धी कारवाही अगाडि नबढाउने अडान प्राधिकरणले लिँदै आएको थियो । प्राधिकरणले उक्त रकम उठाउन कर छुटको पैसा कटाउने विकल्प अपनाएपछि अब यस विषयमा देखिएको महालेखाको वेरुजु समेत अब नरहेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया