दैलेखका वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध मुद्दा दायर


काठमाडौं-  सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

अख्तियारको ठहर अनुसार कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ अन्तर्गत जर्सीचोक–देउली जडी हुँदै सञ्चालन हुने सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने र सहजीकरण गरिदिने प्रलोभन देखाउँदै सेवाग्राहीसँग घुस लिएका थिए।

अख्तियारले लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानासहित कारबाही माग गर्दै आरोप पत्र दायर गरेको छ।

प्रतिक्रिया