
राष्ट्रपति कार्यालयबाट दोलखाकाे भीमेश्वरमा क्षमा पूजा
रामेछाप- देश र जनतामाथि अनिष्ट हुन थालेको विश्वासपछि राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष सम्पन्न गरिएको छ।
जीवित देवी कुमारीले दोलखा भीमेश्वरको शिलामा पसिना आए पनि, त्यसप्रति समयमै ध्यान नदिई पूजापाठ नगरिएको कारण राष्ट्रमा अशुभ संकेत देखिएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयबाट यो पूजा गरिएको बताइन्छ।
भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार शिलामा पसिना आउनु विशेष संकेत मानिन्छ। त्यसबेला राष्ट्र प्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहिआएको हो। तर, यसपटक कोरा पूजासहित क्षमा पूजा र रुद्राविशेष मात्र गरिएको उनले बताए।
राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशील तिमल्सिना तथा काठमाडौँ कुमारी घरका अध्यक्ष गौतम शाक्यसहितको टोली दोलखा पुगेर पूजामा सहभागी भएको थियो। त्यसक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मीहरू पनि मन्दिरमा उपस्थित थिए।
पूजा व्यवस्थापनमा वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठलगायतका पदाधिकारी तथा गुठियारहरूको सक्रिय सहभागिता रहेको थियो।
चलनअनुसार, शिलामा पसिना आएपछि त्यसलाई पुछिएको कपासलाई ‘महाप्रसाद’का रूपमा राष्ट्रपति समक्ष पठाउने र त्यसपछि कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने परम्परा रहिआएको छ।



कागजपत्र |
