जिम्मेवारी पूरा नगरी राजीनामा नदिने अध्यक्ष ओलीको अडान


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा रहेको जिम्मेवारी पूरा नगरी राजीनामा नदिने स्पष्ट बताएका छन्। बुधबारदेखि जारी एमाले केन्द्रीय समिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै उनले पार्टीभित्र उठेका राजीनामाका मागबारे खुलेर प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष ओलीले भने, “केही साथीहरूले राजीनामा माग्नुभएको छ। मसँग आएर होइन, माइकमै सोधिएको थियो। तर म ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर आएको मानिस हुँ। मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी म छाड्दिनँ।”

उनले आफ्नो राजीनामाबारे अन्तिम निर्णय महाधिवेशनमा छलफल गरेर गर्ने बताएका छन्। “मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला, प्रतिनिधिहरूसँग निर्णय मागौंला,” ओलीले भने।

ओलीले पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई संकेत गर्दै भने, “पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं, मित्रताका साथ अघि जाऔं।” उनले पार्टी एकता र आन्तरिक सहकार्यको सन्देश पनि दिएका छन्।

प्रतिक्रिया