नेपालले सामोआलाई दियो २१२ रनको लक्ष्य, आसिफ र ऐरीको अर्धशतक


काठमाडौं-  ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको पहाडजस्तो योगफल बनायो।

नेपालका दुई खेलाडीले उत्कृष्ट अर्धशतक प्रहार गरे। आसिफ शेखले ४१ बलमा ६९ रन बनाउँदै इन्निङ्सको राम्रो सुरुवात दिलाए भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको शानदार योगदान दिए। ओपनर कुशल भुर्तेल १७ रनमा र आरिफ शेख ९ रनमा आउट भए।

कप्तान रोहित पौडेलले १२ बलमा २१ रनको योगदान गरे भने लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे। नेपालले अन्तिम ओभरहरूमा तीव्र गति लिँदै उच्च स्कोर बनाउन सफल भयो।

यो खेलमा नेपालले जित निकाल्न सके छनोट प्रतियोगिताको ट्रफी समेत आफ्नो बनाउनेछ। यद्यपि यसअघि नै यो छनोट प्रतियोगिताबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोलीको रूपमा आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा प्रवेश गरिसकेका छन्।

प्रतिक्रिया