प्रहरी जवानको हत्या प्रकरण : दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता


काठमाडौं- जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

मुद्दामा काभ्रेको रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेकी २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) लाई प्रतिवादी बनाइएको छ।

घटनापछि आफ्नै भतिजाको हत्या भएको भन्दै थापाका काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानअनुसार, प्रहरी जवान थापालाई कुटपिट गरी हत्या गरिएको पुष्टि भएपछि उनीहरुविरुद्ध ‘ज्यान मार्ने कसुर’ र ‘आपराधिक उपद्रव’ मुद्दा दर्ता गरिएको हो।

मुलुकी फौजदारी अपराध संहिता, दफा १७७ अनुसार ज्यान कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ। साथै, संहिताकै दफा २८५ अनुसार आपराधिक उपद्रवको कसुरमा पनि जन्मकैदसम्मको सजाय हुनसक्ने उल्लेख गरिएको छ।

अब जिल्ला अदालतले थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश गर्नेछ।

प्रतिक्रिया