पसलेसँगको एक सय रुपैयाँको लफडा प्रहरीमा पुगेपछि…


कैलाली- कैलालीको गोदावरी–६ लालपुर निवासी मिलन विष्ट मङ्गलवार साँझ अत्तरियाको सुप्रिया स्टोरमा टोपी खरिदका लागि पुगे। स्टोरमा टोपीको मूल्य ३८० रुपैयाँ रहेको थियो, तर विष्टले अनलाइन बैंकिङमार्फत २८० रुपैयाँ मात्र तिरे, जसलाई लिएर उनी र पसल सञ्चालकबीच भनाभन भयो।

प्रहरीका अनुसार, विष्टले थप १०० रुपैयाँ तिर्न नमानेपछि विवाद झगडामा परिणत भएको थियो। विष्टले भने, “मैले पैसा फिर्ता मागे तर दिइएन। सञ्चालकले रुखो बोली र गाली गरेको कारण भिडन्त भयो। मैले भिडिओ खिचेँ, त्यसपछि चार/पाँच जना केटाहरूले मलाई घेरेर हातपात गरे। यो दृश्य सिसिटिभी क्यामेरामा पनि देखिन सक्छ।”

इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख रणबहादुर चन्दले भने, “टोपीको मूल्य कम तिरेर विवाद उत्पन्न भएको हो। विष्टले पसल सञ्चालकलाई ‘तिमी’ भनेर सम्बोधन गर्दा झगडा बढेको हो। हामीले पैसा घटाएको कि नभएको सोध्दा विष्टले पुष्टि गरेका थिए।”

प्रहरीले विवादको भिडिओ डिलिट गरेको र पछि विष्टले टिकटकमा भिडियो पोस्ट गरेपछि उनीहरूलाई दोस्रो पटक इलाका प्रहरी कार्यालयमा बोलाइएको छ।

विष्टले भने, “प्रहरीले मलाई जबरजस्ती भिडिओ डिलिट गर्न लगायो र पाँच सय रुपैयाँ लिए। मलाई धम्की दिइयो र मिलापत्रमा हस्ताक्षर गराइयो। अहिले पनि मलाई फोन गरेर बोलाइरहेका छन्।” इलाका प्रहरी कार्यालयले भने, भिडिओ दुवै पक्षको समझदारीमा डिलिट गरिएको दाबी गरेको छ।

 

प्रतिक्रिया