
सरकारी अधिकारीलाई थर्काउँदै हिँड्ने जेनजी अगुवासँग असईको परिचयपत्र !
काठमाडौं– काठमाडौंमा विभिन्न सरकारी कार्यालयमा धम्की दिने कार्य गरेर पक्राउ परेका अर्जुनबहादुर शाहीसाथबाट प्रहरी सहायक निरीक्षक(असई) कुमार शर्माको परिचयपत्र बरामद भएको छ। शर्माले आफ्नो कार्ड हराएको बताएका छन्। उनले हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् र इन्स्पेक्टर पदमा तालिममा जाने तयारीमा रहेका छन्।
२६ वर्षीय शाही अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय हुन्। उनका टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता कार्यालयमा पुगेर अनुगमन र ज्ञापनपत्रको बहानामा धम्की दिएका थिए। केही दिनअघि मात्रै शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेर महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको घटनाले सुरक्षा सतर्कता बढाएको थियो।
प्रहरीका अनुसार, शाहीको परिवारसँग स्थानीय समुदायमा सम्बन्ध राम्रो छैन। प्रारम्भिक अनुसन्धानमा शाहीको कक्षा ८ मा पढ्दा साविक कालिका गाविस-९ मा तीन बाख्रा चोरी प्रकरणमा संलग्न भएको विवरण पनि भेटिएको छ। अन्य दुई संलग्नमध्ये एक जना पक्राउ परे पनि शाही घटनाक्रमपछि गाउँबाट फरार भएका थिए।
प्रहरीले शाहीलाई पक्राउ गरी थप अनुसन्धान जारी राखेको छ। शाहीसँग बरामद भएको प्रहरी परिचयपत्रको प्रयोगले उनको गतिविधि अझ संवेदनशील देखिएको छ।
सुरक्षा निकायले सरकारी कार्यालयमा धम्की दिने कामको अनुसन्धान र नियन्त्रणमा विशेष ध्यान दिन थालेको छ।



कागजपत्र |
