
पोखरामा पहिलोपटक केज फाइट हुँदै
पोखरा– पछिल्लो समयमा नेपालमा मुवाथाई खेलप्रति रुचि तीव्र गतिमा बढ्दै गएको छ। विशेषगरी पोखरामा यसको आकर्षण झन् फैलिएको छ, जहाँ अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ नियमित रूपमा आयोजना हुँदै आएको छ। यस प्रतियोगिताको संयोजन साक यान्त मुवाथाईले गर्दै आएको हो।
अब भने, सोही आयोजकले मुवाथाईसँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी लोकप्रियता कमाएको एमएमए (मिक्स मार्शल आर्ट्स) समेत समेट्ने भएको छ। यसले गण्डकी प्रदेशमा नयाँ खेल संस्कृतिको अनुभव र नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।
तेस्रो संस्करणको सिरिज आगामी पुस १०, ११ र १२ गते पोखरामा आयोजना हुने निश्चित भएको छ। पहिलो र दोस्रो संस्करण सफल रूपमा सम्पन्न भइसकेपछि, यो संस्करणमा भने गण्डकी प्रदेशकै पहिलो केज फाइट (Cage Fight) हुनेछ। आयोजकहरूले पोखराको पर्यटन प्रवर्द्धनमा समेत यस इभेन्टले योगदान पुर्याउने विश्वास लिएका छन्।
प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार, यसपटक एमएमए फाइटमा नयाँपन र रोमाञ्च थप्न केज फाइट गराउने तयारी गरिएको हो।
उनले भने, “फाइट नाइट आफैंमा रोमाञ्चक खेल हो। पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन प्रवर्द्धनका लागि हामीले केज फाइट आयोजना गर्न लागेका हौं। सम्भवतः यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ। हामीले टिभी र सोसल मिडियामा हेर्दै आएको केज फाइट अब पोखरामै प्रत्यक्ष हेर्न पाइनेछ।”
आगामी पुसको दोस्रो साता लेकसाइड पोखरामा हुने उक्त प्रतियोगितामा नेपालसहित स्पेन, पाकिस्तान, भारत, श्रीलंकालगायतका विभिन्न राष्ट्रका फाइटरहरूले सहभागिता जनाइसकेका छन्।
विश्वभर व्यावसायिक मार्शल आर्ट्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्शल आर्ट्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने अवसर मिल्ने संयोजक क्षेत्रीले बताएका छन्। साथै, प्रतियोगितामा प्रवेश निशुल्क रहने जानकारी पनि उनले दिएका छन्।



कागजपत्र |
