
समातिए जेनजीका नाममा धम्क्याउने ‘पटके’ अर्जुन शाही
काठमाडौं – ‘जेनजी’को नाममा विभिन्न व्यक्तिहरुलाई धम्क्याउने काममा संलग्न अर्जुन शाही पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपल्ट विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने काम गर्दै आएका थिए। जेनजी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्ने गरेका थिए ।
नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंअनुसार, शाहीमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनाको थप विवरण संकलन भइरहेको छ। प्रहरीले उनले धम्की दिएका सबै घटनाका बिवरण संकलन गरी कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
उनीविरुद्ध विभिन्न व्यक्तिहरुलाई विदेश पठाइदिने भन्दै ठगी गरेको भन्दै उजुरी पनि परेको थियो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहण लगत्तै फोटोसेसनमा सहभागी भएका शाही प्रधानमन्त्री सुशीला कार्कीका नजिकका मानिएका थिए ।



कागजपत्र |
