
विपिन जोशीको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय
काठमाडौं- परराष्ट्र मन्त्रालयले इजरायलमा कार्यरत रहँदा हमास समूहको कब्जामा परेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे अझै पनि कुनै स्पष्ट जानकारी नभएको जनाएको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रिहा भएका बन्दीहरूको सूचीमा विपिनको नाम समावेश नभएकाले उनको अवस्था हालसम्म अज्ञात रहेको जनाएको हो।
यसअघि, इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली अधिकारीहरूले विपिन जीवित नरहेको जानकारी दिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले औपचारिक रूपमा प्रतिक्रिया दिएको हो।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आज बिहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूबीच भर्चुअल बैठक आयोजना गरेको थियो। उक्त बैठकमा आज रिहा हुने बन्दीहरूको सूचीमा विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको हो।”
तर, राजदूत पण्डितले भने विपिन जोशीका परिवार र आफूसँगै इजरायली अधिकारीहरूले विपिन जीवित नरहेको जानकारी संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत् दिएका दाबी गरेका छन्।
यसअघि, विपिन जोशी हमासको आक्रमणपछि गाजामा बेपत्ता भएका नेपालीहरू मध्ये एक हुन्। उनको अवस्थाबारे इजरायली पक्षले आधिकारिक पुष्टि नगरेको भन्दै नेपाल सरकारले निरन्तर कूटनीतिक संवाद जारी राखेको जनाएको छ।



कागजपत्र |
