
२५ करोडसहित पक्राउ परेका कुसाङ लामा पनि फरार सूचीमा
काठमाडौं – टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा कारागारबाटफरार भएको खुलेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ट्रक चालक लामा जेन–जी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए।
त्यही दिन भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी पनि भागेका थिए। यद्यपि रायमाझीलगायत अन्य कैदी पछि कारागार फर्किएका छन्, तर लामा भने अझै फरार छन्।
कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको फरार कैदीहरूको सूचीमा लामाको नाम पनि समावेश गरिएको छ।
२०७८ चैत ४ गते टोखाबाट प्रहरीले उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकबाट युरो र डलर गरी २५ करोड रुपैयाँभन्दा बढी बरामद गरेको थियो।
ट्रक चालक लामासहित पक्राउ परेकाहरूको ट्रकबाट ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० युरो र १०० तथा ५० दरका ३ लाख २० हजार ८५० अमेरिकी डलर भेटिएको थियो। जुन तत्कालीन विनिमय दरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको रकम थियो।



कागजपत्र |
