
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौंमा
काठमाडौं — वर्षायामका कारण रोकिएको मेलम्ची खानेपानी आपूर्ति पुनः सुरु गरिएको छ । गत वर्ष असार १० गते बाढी र पहिरोको जोखिमका कारण मेलम्ची खोलाबाट पानी ल्याउने कार्य रोकिएको थियो । मर्मतपश्चात अहिले सुन्दरीजलको पानी संकलन तथा प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको पानी आइपुग्न थालेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिएका छन् ।
उनका अनुसार वर्षातले क्षति पु-याएका स्थानहरू मर्मत गरी पानीको बहाव कम भएपछि मेलम्चीको आपूर्ति पुनः सुरु गरिएको हो । उनले भने, “वर्षातले क्षति गरेको ठाउँहरू मर्मत गरी र पानीको बहाब घटेपछि हामीले मेलम्चीको पानी पुनः काठमाडौं ल्याउन सफल भएका छौं । अहिले सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।”
काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेकामा, मेलम्ची खानेपानी रोकिँदा अन्य स्रोतहरूबाट दैनिक १३ देखि १४ करोड लिटर मात्र आपूर्ति हुँदै आएको थियो ।
मेलम्चीको पानी सुन्दरीजल आइपुगेसँगै काठमाडौं उपत्यकामा वितरण प्रक्रिया सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनका अनुसार, “मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेपछि वितरण सुरु गरिएको छ । अघिल्ला वर्षमा ६ दिनमा एक दिन मात्रै धारामा पानी आउँथ्यो, अब हरेक तीन दिनको फरकमा घरघरमा पानी आउनेछ ।”
वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढी र पहिरोले आयोजनाको हेडवर्क्स पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यसयता हिउँदे मौसममा मात्र मेलम्चीको पानी काठमाडौं पठाइँदै आएको छ ।
बाढीका कारण मेलम्चीको मुहान बन्द भएपछि रिबर्मा खोलाबाट दैनिक ६ देखि ७ करोड लिटर पानी आपूर्ति हुँदै आएको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार, वि.सं. २०७८ चैत १५ गतेदेखि मेलम्ची आयोजनाबाट पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर पानी काठमाडौं पठाउने कार्य सुरु गरिएको थियो । तर सोही वर्षको असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनामा पुनः ठूलो क्षति पु-याएपछि हालसम्म वर्षभर आपूर्ति निरन्तर गर्न सकिएको छैन ।



कागजपत्र |
