माधवनारायण नगरपालिकाका तत्कालीन हाकिम र लेखापालसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा


रौतहट – माधवनारायण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभर्टाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णसहित कम्पनीविरुद्ध गैरकानुनी लाभ र नगरपालिकालाई हानि पुर्‍याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, माधवनारायण नगरपालिका–३ मा रहेको देवी माध्यमिक विद्यालयको भवन निर्माण सम्बन्धी ठेक्का सूचना आवश्यक पत्रपत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्दै उनीहरूले आफसमा मिलोमतो गरी सीमित संख्यामा मात्र पत्रिका छापी सूचना प्रकाशन गरेको देखिएको हो।

उनीहरूले सिटी पोस्ट राष्ट्रिय दैनिक नामक पत्रिका जस्तो देखिने सीमित प्रति मात्र प्रकाशित गरेर अभिलेखका लागि मात्र सूचना छापेको र त्यसमार्फत २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया