मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा भूमिसुधार मन्त्रीले गरिन् नयाँ प्रतिबद्धता


काठमाडौँ – भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा‍. शिवमाया तुम्वाहाङ्फेले नयाँ प्रतिबद्धता गरेकी छन् ।

व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताएकी छन् ।

मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले दूषित मनसाय राखेर गैरकानूनी रूपमा व्यक्तिले दर्ता गराएका जग्गालाई सरकारले फिर्ता ल्याएरै छाड्ने बताएकी हुन् । व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको समेत बताइन् ।

सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगमा पर्न आएका उजुरी छानबिनगरी ३९ बिघा १५ कट्ठा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याइएको उनले बताउइन् । बालुवाटारस्थित ललितानिवास परिसरभित्र कुनै पनि घरटहरा निर्माणका लागि नक्सा पाससम्बन्धी कार्य नगर्ने नगराउने र कानूनविपरीत घरटहरा निर्माण भइरहेको भए निर्माण कार्य रोक्का गर्ने निर्णय भएको उनले बताइन् ।

उनले भू–स्वामित्व र जग्गा दर्ता प्रणालीलाई थप विश्वसनीय, भरपर्दो र वैज्ञानिक बनाउन हाल प्रचलित लिखत दर्ता प्रणालीबाट हकदाबी दर्ता प्रणालीमा परिवर्तन र स्तरोन्नति गर्ने निर्णय भई लागू गर्ने सन्दर्भमा अध्ययनको चरणमा रहेको बताइन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको लगत सङ्कलनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगबाट केन्द्रबाटै दैनिक सङ्कलन भएको तथ्याङ्क प्राप्त गर्न सक्ने गरी विकास गरी प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया