
सुशीला कार्कीको डरले म भाग्दिन, संसद् फिर्ता हुनैपर्छ: ओली
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई “बलमिच्याँइले बनेको” भन्दै तीव्र प्रहार गरेका छन्। बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रमक टिप्पणी गरे।
“के लाग्छ, सुशीला कार्कीको डरले केपी ओली भाग्छ?” भन्दै उनले सरकारप्रति व्यंग्य गरे। ओलीले आफूलाई पक्राउ गर्न रातभर बैठक गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै भने, “रातभर मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्ने भनेर सोच्दैछन्, तर म डराउँदिन।”
गृहमन्त्री अर्याललाई चेतावनी दिँदै ओलीले भने, “गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन सल्लाह दिन्छु, राजनीति ख्यालठट्टा होइन।” उनले आफ्नो पासपोर्ट रोक्का र उपत्यका बाहिर जान रोक लगाउने निर्णयमाथि पनि आपत्ति जनाए।
त्यसैगरी ओलीले संविधान विपरीत बनेको सरकारले लोकतान्त्रिक मूल्यहरूलाई कुल्चिएको भन्दै तत्काल संसद् पुनर्स्थापनाको माग दोहोर्याए।
“असंवैधानिक ढंगले विघटन भएको संसद् फिर्ता गर्नुपर्छ। यही बाटोमा कांग्रेस पनि आउनुपर्छ,” ओलीले भने।
नेपालखबरसँगको कुराकानीमा उनले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने कुरा संविधानविपरीत भएको बताए। “सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभको पदमा जान सक्दैन भन्ने संविधानमा स्पष्ट लेखिएको छ,” उनले स्मरण गराए।
ओलीले हालको सरकार चुनाव गराउने उद्देश्यले नभई राजनीतिक प्रतिशोधका कारण बनेको दाबी गरे। “यो सरकार जनताको होइन, बलमिच्याँइको सरकार हो,” उनले निष्कर्ष निकाले।



कागजपत्र |
