मेडिकल पसलको आडमा लागुऔषध कारोबार, सञ्चालक पक्राउ


रौतहट – मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो।

सई तुल प्रसाद पुडासैनीको नेतृत्वमा खटिएको टोलीले साहको मेडिकल पसलमा छापा मार्दा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण भइरहेको पत्ता लगाएको प्रहरीले जनाएको छ। त्यस क्रममा पसल र साहको घर दुबै ठाउँमा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको हो।

प्रहरीले साहकै नाममा दर्ता भएको ना.३३ प ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा समेत ३०० पत्ता (३,००० पिस) ट्रामाडोल फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।

बरामद मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी पोष्ट चन्द्रनगाहपुर तल्लो बजारमा ल्याइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा साहले मेडिकल व्यवसायलाई आवरण बनाएर लामो समयदेखि ड्रग्सको कारोबार गर्दै आएको आशंका गरिएको छ। विस्तृत विवरण आउन अझ केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया