
‘नेपो बेबी’पछि टिकटकमा ‘झोले एक्सपोज’ अभियान
काठमाडौं – नेपाली कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन सरकार ढाल्न सफल बनेको ‘नेपो बेबी’ ट्रेण्डपछि टिकटकमा अर्को नयाँ ट्रेण्ड सुरु भएको छ, ‘झोले एक्सपोज’। यसको मुख्य निशानामा एमाले र पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली परेका छन्।
एमालेले केही समयअघि झोलाभित्र ‘एकीकृत माक्र्सवाद–लेनिनवाद’ र ‘जबज’ (जनताको बहुदलीय जनवाद) को विचार राखिएको भन्दै सामाजिक सञ्जालमै ‘झोले’ अभियान चलाएको थियो। त्यतिबेला नेतृत्वदेखि कार्यकर्ता सबै सक्रिय देखिएका थिए। अहिले भने जेन–जी समूहले त्यही अभियानलाई आधार बनाएर ‘झोले एक्सपोज’ ट्रेण्ड अघि बढाएको हो।
जेन–जी आन्दोलनपछि राजनीतिक दलभित्र पुनर्गठनको माग उठिरहेको बेला ओलीले भने नेतृत्व नछाड्ने संकेत दिएका छन्। हाल उनी भक्तपुरको गुण्डुमा नयाँ घर लिएर बसिरहेका छन्, जसलाई पार्टीकै पोलिटब्युरो सदस्य महेश बस्नेतको सुरक्षा उपलब्ध गराइएको बताइन्छ।
बस्नेतले हालै ओलीसँग युवाहरूलाई फोटो सेसनमा सहभागी गराएका थिए। त्यतिमात्र नभई राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्तालाई गुण्डुमा बोलाएर ‘आई लभ यु केपी बा’ को नारा लगाउन पनि लगाइएको थियो।
यही घटनाक्रमलाई जेन–जी कार्यकर्ताले व्यंग्य बनाउँदै टिकटकमा ‘झोले’ भनेर संज्ञा दिएका छन्। अहिले ओलीसँग फोटो खिच्ने वा ‘आई लभ यु’ भन्ने नारा लगाउने युवाहरूसम्मलाई बहिष्कार गर्ने रणनीतिसहित #ExposeJhole ट्रेण्ड फैलिएको छ।
विभिन्न समयमा ओलीसँग फोटो खिचेका व्यक्तिहरूलाई ट्रेण्डमार्फत सार्वजनिक (‘एक्सपोज’) गर्ने क्रम बढ्दो छ।



कागजपत्र |
