यी हुन् उपत्यका प्रहरी कार्यालय जलाएर हतियार लुट्ने अराजक प्रदर्शनकारी !


काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनको दोस्रो दिन राजधानीमा अराजकता हावी भयो। संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा राजनीतिक दलका कार्यालयदेखि शीर्ष नेताका निजी आवाससमेत सुरक्षित रहेनन्।

यस्तै, जनताको सुरक्षामा खटिने प्रहरी कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाए। काठमाडौं उपत्यका प्रहरी कार्यालयमा गरिएको आगजनीले ठूलाे क्षति पुर्‍यायो। राजधानीका सबै सीसीटीभी क्यामेराको निगरानी हुने केन्द्र नै ध्वस्त पारिँदा सुरक्षा संयन्त्र नै कमजोर बनाइयो।

त्यसक्रममा प्रदर्शनकारीले करिब दुई दर्जन प्रहरी गाडीमा तोडफोड गर्दै आगजनी गरे। कार्यालयका सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भए भने ठूलो संख्यामा हतियारसमेत लुटिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा प्रदर्शनकारी खुकुरीसहित गाडी तोडफोड गरिरहेको देखिन्छ। त्यसपछि उनीहरूले कार्यालय ध्वस्त पारेको दृश्य पनि स्पष्ट देखिन्छ।

घटनापछि उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले सम्पूर्ण मुद्दा अब जिल्ला प्रहरी परिसरमार्फत संचालन गर्न निर्देशन दिएका छन्। उनका अनुसार कार्यालय ध्वस्त भएकाले तत्कालीन रूपमा वैकल्पिक व्यवस्था खोजिएको छ।

प्रतिक्रिया