
जनकपुरधाममा लुटिएको एसएलआर राइफलसहित २ जना पक्राउ
जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा प्रहरीले प्रयोग गर्ने हतियार लुटेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकासँगै लुटिएको हतियारसमेत बरामद भएको धनुषा प्रहरीले जनाएको छ।
गत भदौ २४ गते बेलुकी करिब ५०–६० जनाको समूहले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको थियो। सो क्रममा चारपाङ्ग्रे गाडी चारवटा, मोटरसाइकल चारवटा, सीसीटीभी क्यामेरा लगायतका भौतिक संरचना क्षति पु¥याइएका थिए। साथै सुरक्षार्थ खटिएका प्रहरीको एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली लुटिएको थियो।
धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सीसीटीभी फुटेजको आधारमा जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको हो। पक्राउ परेकासँगै लुटिएको एसएलआर राइफल र गोली बरामद गरिएको उनले बताए।
यसअघि आन्दोलनकै क्रममा प्रहरीले गुमाएको थ्रिनट थ्री राइफल पनि दुई दिनअघि बरामद भएको सिंहले जानकारी दिए।
उनका अनुसार आन्दोलनको क्रममा प्रहरीले दुईवटा हतियार गुमाएको थियो, जुन दुवै हाल बरामद भइसकेका छन्।



कागजपत्र |
