सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, झण्डै हात हालाहाल !


काठमाडौं- काठमाडौंको रिपोर्टर्स क्लबमा जेनजी अभियन्ता सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा मच्चिएको छ। गुरुङले “हामी नेपाल” नामक संस्थाको तर्फबाट आफ्नो गतिविधि र आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए।

पत्रकार सम्मेलनमा मृतक परिवारका सदस्यहरूसँग गुरुङले संवाद गरिरहेका थिए। तर, केही पत्रकार र उपस्थित व्यक्तिहरूले उनका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदा झण्डै हात हालाहालको स्थिति उत्पन्न भएको थियो। केहीले सुदनमाथि धकेलाधकेल गरेका थिए।

त्यहाँ एक जनाले , “ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो?” भनेर साेधेका थिए ।  त्यसपछि गुरुङले आक्रोशित हुँदै जवाफ फर्काए, “हामी फेरि आन्दोलन गर्छौं। नेताहरुलाई घरबाट निस्कनै दिन्नौं। मैले मान्छे मारेको होइन।”

उक्त समयमा पत्रकार सम्मेलनमा उपस्थित सबै आ-आफ्नै धारणा राख्न थाले, जसले परिस्थितिलाई थप उत्तेजित बनायो। घटना जटिल बनेपछि प्रहरी घटनास्थलमा पुगेको र गुरुङलाई सुरक्षा दिँदै सम्मेलनको कक्षको एक कुनामा राखेको जनाएको छ।

सुदन गुरुङले आफूलाई तिब्बती स्वतन्त्रता पक्षधर र भारतीय नागरिक भनी लागेको आरोपको स्पष्टिकरण दिन रिपोर्टर्स क्लब रोजेका हुन्। तर गुरुङको अभिव्यक्तिले पत्रकार सम्मेलन तनावपूर्ण बनेको र हातपात तथा धकेलाधकेलको अवस्था सिर्जना भएको बताइएकाे छ।

प्रतिक्रिया