
स्वास्थ्य मन्त्री चयनमा आफ्नो नाम नराख्न डा. केसीको आग्रह
काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री चयनका लागि भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री चयन गर्न जेनजी समूहले डा. केसीको नाम राखेको र केही समूहले अनलाइन मतदान गर्दै आएको जानकारी पाएपछि उनले विज्ञप्ति जारी गरी हटाउन आग्रह गरेका हुन्।
डा. केसीले विज्ञप्तिमा भनेका छन्, “मेरो नाम अनलाइन मतदानमा राखिएको भए पनि म कुनै पनि पद वा ओहोदाको आकांक्षी होइन। न पहिला थिएँ, न अहिले छु र न भविष्यमा हुनेछ। त्यसैले सम्बन्धित पक्षले मेरो नाम तुरुन्त हटाउन अनुरोध गर्दछु।”
उनले अन्तरिम सरकारको गठनलाई नव युवा पुस्ताद्वारा सुरु भएको आन्दोलनको तार्किक निष्कर्षका रूपमा लिने अपेक्षा राखेको बताएका छन्। साथै, विगत लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि लडेका उनले युवाहरूको स्वत:स्फुर्त नागरिक अधिकारका लागि उठेका आवाजप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन्।



कागजपत्र |
