
जेनजी आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस तयार
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २३ भदौमा भएको घटनाका लागि पार्टीका तर्फबाट देशवासीसँग माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत थापाले त्यस्तो अकल्पनीय घटना कसैले चाहेको नहोे भन्दै कांग्रेसको जिम्मेवारी स्वीकार गर्नुपर्ने बताए।
“भदौ २३ गते भएको घटनाले हाम्रो अनुहारमा दाग लागेको छ। ऐना पुछेर हट्दैन, हामी आफैंले त्यो दाग पुछ्नुपर्छ। कांग्रेसले सिंगो देशसँग माफी माग्नुपर्छ,” उनले लेखेका छन्।
थापाले आन्दोलनका क्रममा पार्टीका कार्यालयदेखि सम्पत्तिसम्म तोडफोड र आगजनी भएको उल्लेख गर्दै त्यसलाई सहज बनाउनुपर्ने बताए। “जहाँ नियतवश आक्रमण भएका छन्, त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्छ। भदौ २३ र २४ मा भएका अमानवीय घटनाको छानबिन गरी दोषी जो भए पनि कानुनअनुसार कारबाही गर्नुपर्छ,” उनको भनाइ छ।
महामन्त्री थापाले पुनर्निर्माणको जिम्मा कांग्रेसले लिनुपर्ने बताए। उनले विगतमा कांग्रेसले माओवादीसँग हात मिलाएर घाउ चोटी बिर्साएको उदाहरण दिँदै यसपटक पनि एकताकै पहल आवश्यक रहेको उल्लेख गरे।
उनले जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेस अन्तरिम सरकार गठनमा पहल गरिरहेको स्पष्ट पारे। “जेनजी आन्दोलनकारी साथीहरूले उठाएका मागलाई सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। सम्भवत: आज साँझसम्म अन्तरिम सरकारबारे टुंगो लाग्नेछ,” उनले भने।
थापाले २०४६ पछि सार्वजनिक पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने र कांग्रेस पार्टीको पुनर्गठन अपरिहार्य रहेको समेत बताए। साथै, राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको जानकारी उनले दिए।



कागजपत्र |
