शोभराज अन्तर्वार्ता प्रकरण: ‘जेलभित्रै शोभराजको कोठा खानतलासी’


काठमाडाैं – अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजले एक ब्रिटिश पत्रिकालाई जेलभित्रबाटै कसरी अन्तर्वार्ता दिन सफल भए भन्ने विषय उनी रहेको कारागारको अनुसन्धानका क्रममा समेत प्रस्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।

चैत १४ मा एक ब्रिटिश पत्रिकामा प्रकाशित उनीसँगको अन्तर्वार्तामा आधारित भनिएको सामग्री प्रकाशित भएपछि केन्द्रीय कारागार सुन्धाराले त्यसको खोजबिन गरेको थियो।

उक्त कारागारका प्रमुख लक्ष्मी बाँस्कोटाले बीबीसीलाई भने, “उनले परिवारसँग सम्पर्क गर्ने नम्बर बाहेकमा फोन गरेको विवरण देखिएन। सायद त्यसक्रममा भएका संवादलाई पत्रिकाले प्रयोग गरेको हुनसक्छ।”

 

अनुसन्धान

चार्ल्स शोभराज केन्द्रीय कारागारको गोलघरमा बस्ने र उक्त ठाउँ सीसीटीभी क्यामेराको निगरानीमा समेत हुने केन्द्रीय कारागारले जनाएको छ।

पछिल्लो समय उनीसँग बाहिरका मानिसहरूको भेटघाट नभएको बताइएको छ।

“जेलभित्रकै अन्य कैदी र ड्यूटीमा रहेका सुरक्षाकर्मीसँग समेत उनले खासै कुराकानी गरेको देखिँदैन,” जेलर बाँस्कोटा भन्छन्।

“उनको र आसपासका कोठाहरू खानतलासी गर्दा समेत कुनै फोन, सीमकार्ड वा अन्य सञ्चारका उपकरणहरू भेटिएनन्।”

कारागार प्रशासनले उनी उक्त जेलमा आएदेखि अमेरिका, ब्रिटेन र फ्रान्समा उनले नियमित गरिरहने नम्बरहरूमा मात्र फोन गरेको विवरण पाएको जनाएको छ।

उनले प्रायजसो अङ्ग्रेजी र फ्रेन्च भाषामा संवाद गर्ने गरेको कारागार अधिकारीहरू बताउँछन्।

जेलर बाँस्कोटा थप्छन्, “हाम्रो निष्कर्ष परिवार वा साथीहरूलाई सम्पर्क गर्ने तिनै नम्बरमार्फत् संवादको रेकर्ड पत्रकारसम्म पुगेको हुनसक्छ। त्यही कुरा हामीले गृह मन्त्रालय र कारागार व्यवस्था विभागलाई अवगत गरायौँ।”

 

जेलभित्रबाट हुने संवाद कस्ता हुन्छन्?

नियमानुसार कैदीहरूले प्रत्येक हप्ता दुई पटकसम्म आफन्त र परिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँछन्।

त्यसरी टेलिफोनमा कुराकानी गर्दा विदेशीको हकमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्न पाइने व्यवस्था रहेको बताइन्छ। तर जेलभित्रबाट हुने संवादको रेकर्ड भने कारागारले राख्ने गरेको छैन।

प्रकाशित सामग्रीमा शोभराजले आफू केही सातामै छुट्न लागेको र आफू निर्दोष भएको बताएको उल्लेख छ।

“ती संवाद आफ्ना परिवारलाई सान्त्वना दिनका लागि धेरैजसो कैदीबन्दीले सामान्य रूपमा गर्ने खालकै हुन्,” जेलर बाँस्कोटा भन्छन्। “त्यसैले जेलको सुरक्षा र संवेदनशीलतालाई असर पर्ने कुरा नगरेसम्म उनीहरूलाई रोक्ने वा कारबाही गर्ने गरिएको छैन।”

 

कारबाही

यस घटनापछि शोभराजलाई परिवारसँग कुरा गर्न समेत थप निगरानी गरिने कारागार व्यवस्था विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्।

महानिर्देशक द्रोण पोखरेल भन्छन्, “हाम्रो अनुसन्धानमा पत्रिकासँग कुरा गरेको देखिँदैन र उनले समेत त्यसलाई इन्कार गरेका छन्। विदेशी पत्रिका भएकाले हामी उक्त सञ्चारमाध्यमसँग थप सोधखोजमा गएनौँ।”

शोभराजको एउटा सजाय २०८० सालमा पूरा हुने भएपछि उसका अन्य मुद्दा समेत भएकाले उनी ठ्याक्कै कहिले छुट्छन् भन्ने स्पष्टता कारागार प्रशासनलाई नभएको बताइएको छ।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराजले नेपालमा कारावास जीवन बिताइरहेका छन्। -बीबीसी

 

प्रतिक्रिया