
बाँकेमा जापानीज इन्सेफलाइटिसबाट बालकको मृत्यु
नेपालगञ्ज – बाँकेमा जापानीज इन्सेफलाइटिसका कारण एक बालकको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिका–४ निवासी ८ वर्षीय हशमुद्दीन खानको उपचारका क्रममा मृत्यु भएको हो। हालसम्म जिल्लामा चार जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ।
मृतक बाहेक अन्य तीनमध्ये डुडुवा गाउँपालिका–२ का ६ वर्षीय गणेश गोडिया र नरैनापुर–४ का ३ महिनाका बालक मोहम्मद फैजान खान उपचारपछि निको भएर घर फर्किएका छन्।
त्यसैगरी, कोहलपुर नगरपालिका–१२ की ७ वर्षीया बालिका आश्मा वारलाई यहाँ उपचार सम्भव नभएकाले काठमाडौं पठाइएको छ। हाल उनी कान्ति बाल अस्पताल, काठमाडौंमा उपचाररत रहेको स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी दिइन्।
पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा जापानीज इन्सेफलाइटिसका बिरामी भेटिन थालेकाले सचेत रहन र आवश्यक बचावका उपायहरू अपनाउन सबैलाई आग्रह गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश पौडेलले बताए।



कागजपत्र |
