अख्तियारको नक्कली कर्मचारी बनेर एक करोड डिल गर्ने दुई पक्राउ


काठमाडौं– आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी प्रस्तुत गर्दै एक करोड रुपैयाँ डिल गर्ने दुई व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा डोटी घर भइ कीर्तिपुर बस्ने २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ घर भइ सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, साह योजनाकार र पनेरु धम्क्याउने व्यक्ति हुन्। उनीहरूले टोखा नगरपालिका–८ बस्ने एक व्यक्तिलाई फोन गरी आफूहरू अख्तियारको कर्मचारी भएको दाबी गर्दै नक्कली नागरिकताको मुद्दा उठाएका थिए।

एसपी काजिकुमार आचार्यका अनुसार, ती व्यक्तिहरूले उक्त परिवारलाई “फाइल बन्द गर्न एक करोड रुपैयाँ दिनुहोस्, नभए जेल” भनी धम्की दिएका थिए। पटक–पटक फोनमार्फत धम्की दिएपछि उनीहरू प्रहरीसम्म पुगेका थिए।

पक्राउ परेका दुबै व्यक्ति वास्तवमा अख्तियारका कर्मचारी नभएका पाइएको छ। हाल उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया