वीरकी नर्सिङ प्रमुख श्रेष्ठमाथि छानबिन र कारवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन


काठमाडौं – प्रधानमन्त्री कार्यालयले देशकै सबैभन्दा ठूलो र पुरानो मानिएको वीर अस्पतालकी नर्सिङ प्रमुखमाथि छानबिन र कारबाहीको लागि निर्देशन दिएको छ ।

विभिन्न शाखामा कार्यरत केही भ्रष्ट कर्मचारीहरुले वीर अस्पतालमा हुने गरेका आपूर्ति, कर्मचारी भर्नालगायतका काममा भ्रष्टाचार गरेको र उनीहरु छानबिन र कारबाहीमा परेका समाचारहरु आइरहेका छन् । यसै सन्दर्भमा अस्पतालको नर्सिङ प्रमुख ११ औं तहकी संगीता श्रेष्ठमाथि पनि छानबिन र कारबाही गर्न प्रधानमन्त्री कार्यालय निर्देशन दिएको हो ।

उनले अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता र ज्यादति गरेकाले छानबिन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायमा उजुरी परे पछि प्रधानमन्त्री कार्यालयले छानबिनपछि कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रमुख श्रेष्ठले अस्पतालका निर्देशक र उपसचिवको निर्देशन अवज्ञा गर्ने गरेको, सरसफाइसम्बन्धी सामान गुणस्तरहीन खरिद गरी कमिसन  लिने गरेको  उजुरीमा थियो । सरसफाइ ठेकेदार कम्पनी इन्फो–टेकसँग ठेक्का सम्झौता  गर्दा  १२ लाख कमिसन लिएर सहमति दिएको, वीर अस्पतालमा गार्डको ठेक्का पाएको जि–फोर्स कम्पनीसँग पनि आर्थिक कमिसन लिन खोजेको र नपाएपछि सम्झौता खारेज गरिदिने गार्डहरुलाई दुःख दिने गरेका छन् ।

श्रेष्ठले वीर अस्पतालमा निजी नर्सिङ कलेजबाट प्रयोगात्मक अभ्यास गर्ने सहमति दिंदा कलेजैपिच्छे ५-५ लाख दररेट उठाएर सो कलेजलाई वीर अस्पतालमा नर्सिङ बिद्यार्थीलाई अभ्यास गराउन दिने गरिएको पनि आरोप लागेको छ।

खरिद एकाई र लेखा शाखासँग महिनावारी रुपमा व्यापारीलाई भुक्तानी दिएको रकमको १० प्रतिशत कमिसन माग गर्ने गरेको आरोप पनि उजुरीमा लगाइएको छ ।

साथै उजुरीमा अस्पतालमा नर्सिङ र अनमिका लागि आएको सबैजसो तालिममा श्रेष्ठ आफैं जाने गरेको आरोप लगाइएको छ । साथै उनले कार्यालय समयमै अनलाइनमार्फत् निजी क्याम्पसहरुमा पढाउने गरेको पनि जनाइएको छ ।

यहि विषयमा विभिन्न निकायका छानबिन र कारवाही को माग गरि पेश गरेको निवेदनमा प्रधानमन्त्री  कार्यलयले यही भदौ १५ गते स्वास्थ्य मन्त्रालय लाई पत्र लेखी आवश्यक कारवाही गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया