विपन्न चेपाङलाई घर बनाउन मुख्यमन्त्री बानियाँले दिए पहिलो किस्ताबापत २ लाख


हेटौँडा – राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताको रुपमा २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।

गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा मुख्यमन्त्री बानियाँले सोमबार घर निर्माणको जिम्मा लिने पक्षलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

सुमनसिंको घरको अवस्थाबारे जानकारी पाएपछि गाउँपालिका र नेपाली काँग्रेस राक्सिराङको सिफारिसमा मुख्यमन्त्रीले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गरेका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएदेखि नै बानियाँले आफ्नो तलब–भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर निर्माण सहयोग गर्ने घोषणा गरेका थिए। सोही अभियानअन्तर्गत हाल राक्सिराङका सुमनसिं चेपाङ र मनहरीका विपन्न दलित महिला मिठुमाया सुनारको घर निर्माण सुरु भएको छ।

दसैँअघि नै दुवै घर निर्माण सम्पन्न गर्नुपर्ने निर्देशन मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरूलाई दिएका छन्।

राक्सिराङ–१ का सुमनसिंको लागि दुईवटा कोठा, एउटा भान्छा र ट्वाइलेट–बाथरुमसहितको घर निर्माण हुने योजना रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। उक्त घर निर्माणमा लाग्ने सम्पूर्ण खर्च मुख्यमन्त्री बानियाँले नै बेहोर्नेछन्।

यसअघि नै मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारलाई पनि घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन्।

प्रतिक्रिया