सिरहामा करेन्ट लागेर दुईजनाको मृत्यु, एक महिला घाइते


सिरहा – जिल्लामा छुट्टाछुट्टै दुई घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, शनिबार सिरहा नगरपालिका–४, रमौलका इद महमदका १५ वर्षीय छोरा मो. अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको मृत्यु भएको हो।

इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका अम्मादलाई प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको निधन भयो। त्यस्तै, घरमै सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेका सदायलाई स्थानीय अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो।

यस्तै, आइतबार सिरहा–४, रमौलकी ३० वर्षीया अफ्रोजा खातुन पनि इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी छन्। हाल उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले विद्युत् प्रयोगमा लापरबाही बढ्दै गएकाले यस्ता घटना दोहोरिन सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया