तिब्बत हाट बजार गएका मुगुका साग्वुको लेक लागेर मृत्यु


मुगु – तिब्बतको ह्याजीमोरा हाट बजारमा सामान किनमेल गर्न पुगेका एक व्यक्तिको लेक लागेर मृत्यु भएको छ।

मृतक मुगु कार्मारोङ गाउँपालिका–२, मुगुम गाउँका ४५ वर्षीय साग्वु लामा रहेका छन्। हाल उनी जुम्ला चन्दनाथ नगरपालिका बसोबास गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय मुगुले जनाएअनुसार लामालाई हाट बजारमै श्वासप्रश्वासमा समस्या आएपछि तत्काल उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर बोलाइए पनि, हेलिकोप्टर पुग्नुअघि नै उनको ज्यान गएको हो।

मृतक लामाको परिवार जुम्लामै रहेकाले शवलाई हेलिकोप्टरमार्फत जुम्ला लगिएको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास रावले जानकारी दिए।

हरेक वर्ष साउन अन्तिम साता र भदौको पहिलो साता नेपाल–तिब्बत सिमामा पर्ने ह्याजीमोरामा हाट लाग्ने गरेको छ।

प्रतिक्रिया