
सीमा क्षेत्रमा अवैध गतिविधि रोक्न आइजिपी अर्यालको निर्देशन
काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ)का महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथामका लागि थप कडाइ गर्न मातहत कमान्डरहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार एपीएफ प्रधान कार्यालयमा भर्चुअल माध्यममार्फत सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमान्डरहरूलाई सम्बोधन गर्दै आइजिपी अर्यालले सीमा सुरक्षासम्बन्धी विविध विषयमा निर्देशन दिएका हुन् । जवाफदेही र जिम्मेवार बन्ने क्रममा प्रत्येक तहका कमान्डरको समान भूमिका रहने भन्दै उनले चेन अफ कमान्डलाई कठोरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिए ।
सीमा क्षेत्रमा हुने चोरी, तस्करीलगायत अवैध गतिविधि नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म निगरानी गरिरहेको उनले बताए । त्यस्ता गतिविधिमा संलग्न भएको वा लापरबाही देखिएमा कुनै पनि कमान्डर छानबिन र कारबाहीको भागीदार बन्ने चेतावनीसमेत उनले दिए ।
कमाण्डरहरूले मुलुक, जनता र संगठनको हितलाई प्राथमिकतामा राख्दै विवेक प्रयोग गर्न सक्ने स्पष्ट पार्दै अर्यालले असल कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नु नपर्ने धारणा राखे । साथै, सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरीत गतिविधिमा संलग्न हुने माथि कठोर कदम चाल्न निर्देशन दिए ।
सीमा क्षेत्रमा हुने अवैध आवतजावत रोक्न शंकास्पद व्यक्तिमाथि विशेष निगरानी गर्नुपर्ने र सीमा व्यवस्थित बनाउन सबै कमान्डरहरू चनाखो हुनुपर्नेमा पनि उनले जोड दिए ।
सो अवसरमा सीमा सुरक्षा विभाग प्रमुख, अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले पनि सीमा अपराध रोकथामका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा जोड दिन निर्देशन दिए । स्थानीयसँग सहकार्य अझै महत्त्वपूर्ण हुने भन्दै उनले सीमासम्बन्धी अभिलेखिकरणमा सबै तहका कमान्डर जानकार हुनुपर्ने बताए ।
उनका अनुसार, प्रत्येक युनिटको राम्रो कार्य र सफलता संगठन र मुलुकको सफलतासँग जोडिने भएकाले संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । जटिल परिस्थितिमा सही निर्णय लिन सक्ने क्षमता कमान्डरहरूसँग हुनु जरुरी रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा सीमावर्ती बाहिनी मुख्यालय प्रमुखहरूले हाल सीमा क्षेत्रमा भइरहेका गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । त्यस्तै, गण, गुल्म तथा बीओपी कमान्डरहरूले पनि सीमा सुरक्षाको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराएको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।



कागजपत्र |
