रवि लामिछानेको स्वास्थ्यमा समस्या


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार रुपन्देहीबाट ललितपुरस्थित नख्खु कारागार सारिएको हो।

 सोमबार दिउँसो कारागार पुगेका रास्वपाका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको बताए। ‘उहाँको स्किन पहिलेको भन्दा फरक देखियो,’ अर्यालले भने, ‘मैले स्वास्थ्य जाँच आवश्यक छ भनेर जेल प्रशासनलाई जानकारी गराएँ। जेलरले बाहिर लैजाँदा सुरक्षा चुनौती हुने भएकाले डाक्टरलाई कारागारमै बोलाउने सुझाव दिनुभयो।’

उनको भनाइअनुसार अहिले ट्रमा सेन्टरबाट चिकित्सकहरूको टोली नख्खु कारागार पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ।

त्यस्तै, रास्वपाका अर्का नेता दीपक बोहराले पनि लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातका छालामा पहेंलो देखिएको र हाल स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए।

कारागार स्रोतले समेत लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको  छ।

प्रतिक्रिया