
आइसियूमा चिकित्सक र नर्सको आपत्तिजनक गतिविधि देख्नेमाथि नै हमला !
रौतहट- प्रादेशिक अस्पताल गौरमा चिकित्सक र नर्सको आपत्तिजनक गतिविधि देखेर सूचना दिने व्यक्तिमाथि निर्घात कुटपिट भएको घटनाले स्वास्थ्य संस्था भित्रै सुरक्षा र पारदर्शिताको चुनौती उजागर गरेको छ।
सत्यम कुमार पाण्डेले चार दिनदेखि आइसियुमा उपचाररत आफ्नो बुबा अशोक कुमार पाण्डेलाई खाना खुवाउने क्रममा आइसियु कक्षमा चिकित्सक र नर्स आपत्तिजनक अवस्थामा देखेको बताए। आइसियु कक्षको ढोका नखुलेको भन्दै निकै बेर कुरेपछि ढोका ढक्ढकाउँदा अँध्यारो कोठाबाट आपत्तिजनक स्थितिमा चिकित्सक र नर्स निस्केको देखेको पाण्डेको भनाइ छ ।
पाण्डेले यसबारे प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, अस्पताल व्यवस्थापन समिति अध्यक्ष अनवर हासमी र जिल्ला प्रहरी कार्यालय रौतहटका डिउटी हवलदारलाई जानकारी दिएका थिए।
तर, साउन २६ मा पाण्डेले आफूमाथि चिकित्सकसँग सम्बन्धित व्यक्तिहरूद्वारा निर्घात कुटपिट भएको दाबी गरेका छन्। उनले घटनापछि अझै पनि असुरक्षित अनुभव भइरहेको बताउँछन्। उनले घटनाकाे समयमा चिकित्सकले कसैलाई बताए नराम्रो हुने धम्की दिएको बताएका छन्।
घटनाप्रति अस्पताल प्रशासनले मौनता अपनाएको छ भने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीले त्यतिखेर बिदामा भएको भन्दै घटना सम्बन्धमा जानकारी नभएको बताएका छन्।



कागजपत्र |
