जम्मु–कश्मीरमा फेरि आरीघोप्टे वर्षा: सात जनाको मृत्यु


काठमाडाैं- भारतको जम्मु–कश्मीरस्थित काठुवा जिल्लामा बादल फाटेर आएको भीषण वर्षाका कारण सात जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

शनिबार राति र आइतबार बिहान भएको आरीघोप्टे वर्षापछि आएको बाढी र पहिरोले मानवीय क्षति पु¥याएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार काठुवाको जोध घाटी क्षेत्रमा बाढीमा परेर पाँच जनाको ज्यान गएको छ भने जाङलोटेमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

केन्द्र सरकारका मन्त्री तथा जम्मु–कश्मीरका सांसद जितेन्द्र सिंहका अनुसार वर्षाले रेलमार्ग, नेशनल हाईवे–४४ र प्रहरी चौकी समेत क्षतिग्रस्त पारेको छ। राहत तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिएका छन्।

स्थानीय प्रशासनले काठुवा क्षेत्रमा अझै पनि मुसलधारे वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ।

यसअघि गत साता जम्मु–कश्मीरकै किश्तवाड क्षेत्रमा भएको आरीघोप्टे वर्षाले ५० भन्दा बढीको ज्यान लिएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए। अझै पनि ८२ जना हराइरहेका छन्।

प्रतिक्रिया