
कुवेतमा विषाक्त मदिराले १३ आप्रवासीको मृत्यु, दर्जनौं अस्पतालमा
कुवेत – कुवेतमा विषाक्त मदिरा सेवनका कारण १३ आप्रवासी कामदारको मृत्यु भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथेनोल मिसाइएको मदिरा सेवनपछि मृत्यु हुनेहरू एसियाली मुलुकका नागरिक हुन् भने दर्जनौं अन्य अस्पताल भर्ना भएका छन्।
मन्त्रालयका अनुसार कुवेतका विभिन्न अस्पतालहरूले दूषित पेय पदार्थसँग सम्बन्धित ६३ वटा घटनाको उपचार गरेका छन्। बिरामीहरूमध्ये ३१ जनालाई मेकानिकल भेन्टिलेसन आवश्यक परेको छ भने ५१ जनालाई आपतकालीन डायलिसिस गरिएको छ। साथै, २१ जनामा स्थायी अन्धोपन वा गम्भीर दृष्टि क्षति देखिएको गल्फ टाइम्सले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।
अधिकारीहरूले मदिराको स्रोत पत्ता लगाउने र यसको वितरणमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान सुरु गरेका छन्। मृतकको परिचय सार्वजनिक नभए पनि उनीहरू नेपाल, भारत लगायतका मुलुकका हुन सक्ने अनुमान गरिएको छ।
कुवेतस्थित नेपाली दूतावासले घटनाबारे कुनै जानकारी नदिए पनि भारतीय दूतावासले विषाक्त मदिरा सेवनका कारण ४० जना भारतीय नागरिक अस्पताल भर्ना भएको पुष्टि गरेको छ। यसैबीच, कुवेतको केन्द्रीय कारागारमा रहेका ४८ जना नेपालीमध्ये अधिकांश मदिरा उत्पादन तथा बिक्रीवितरण आरोपमा जेल परेका छन्।
स्वास्थ्य मन्त्रालयले अनियन्त्रित मादक पेय पदार्थ सेवनका खतराबारे जनतालाई चेतावनी दिँदै, मिथेनोल विषाक्तताको शंका लाग्ने कुनै पनि घटनाबारे तत्काल नजिकको अस्पतालमा सम्पर्क गर्न वा तोकिएको हटलाइनमा खबर गर्न आग्रह गरेको छ।
कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ।



कागजपत्र |
